शनिबार, भाद्र ४ २०७९

वडाध्यक्षको हर्कत : क्वारेन्टाइनमा बसेकालाई दुई दिनमै घर पठाइयो !



वडाध्यक्षको हर्कत : क्वारेन्टाइनमा बसेकालाई दुई दिनमै घर पठाइयो !

गोरखाको शहिद लखन गाऊँपालिका वडा नम्वर ७ को सामुहिक क्वारेन्टाइनमा बसेकाहरुलाई वडाध्यक्षले गाऊँपालिकाको निर्णय वेगरनै घर पठाइदिएका छन् । स्थानीय एक ब्यक्तिसंग विवाद भएको बिषयलाई लिएर वडा नम्वर ७ का अध्यक्ष शरण श्रेष्ठ र ८ का अध्यक्ष काशिनाथ अंगाईले ७ जनालाई घर पठाइदिएका हुन् ।

स्थानीय शहिद स्मृति माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेका सबैलाई ७ जनालाई शनिवार दिउँसो उनीहरुकै आग्रहमा घर पठाएको वडा नम्वर ७ का अध्यक्ष श्रेष्ठले दावी गरेका छन् ।

क्वारेन्टाइन व्यावस्थापन समितिका संयोजक समते रहेका अध्यक्ष श्रेष्ठले कुनै सल्लाहनै नगरी क्वारेन्टाइनमा वसिरहेकाहरुलाई जवर्जस्ती घर पठाएको गाऊँपालिका उपाध्यक्ष ईन्दिरा तिवारीले जानकारी दीइन्।

‘म त्यही फिल्डमा छु, मैले वडाध्यक्षलाई के गर्नुभएको यस्तो क्वारेन्टाइनमा बसेकालाई घर पठाउन पाइदैन भन्दा कसले के गर्छ भन्दै उहाले जवर्जस्ती घर पठाउनु भयो’, उनले भनिन्, ‘यो गाऊँपालिकाको निर्णयविरुद्ध छ।’

क्वारेन्टाइन सञ्चालनका विषयमा विवाद भएपछि उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरि घर पठाइएको श्रेष्ठले दावी गरे । अध्यक्ष श्रेष्ठले भने, ‘चौतर्फी दवावपछि र्‍यापिड डाइनोस्टिक टेस्ट गर्ने गरि कागज गरेर उनीहरुलाई छाडिएको हो।’ उनिहरु बस्न नमानेकोले होम क्वारेन्टाइनमा बस्ने गरि छाडिएको अध्यक्ष श्रेष्ठले दावी गरे। उनीहरुको स्वास्थ्य अवस्था ठिक रहेको समेत उनले बताए।

गाऊँपालिकाले निर्णय गरेर क्वारेन्टाइनमा राख्ने भनेपछि त्यसै छाड्न मिल्छ त भन्ने गण्डकी टाईम्सको प्रश्नमा अध्यक्ष श्रेष्ठले असहयोग भएपछि यस्तो निर्णय लिन बाध्य भएको दावी गरे।

शहिद स्मृति माविको क्वारेन्टाइनमा बैशाख ३ गते हेटौंडाबाट आएका ५ जना र बैशाख ५ गते काठमाण्डौंबाट आएका २ जना बस्दै बसेका थिए । उनीहरुको क्वारेन्टाइनमा बस्ने अवधी पूरा बाकी थियो ।

गाऊँपालिका अध्यक्ष रमेश थापामगरले भने बाहिरबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्ने पालिकाले निर्णय गरेकाले उनीहरुलाई घर पठाउनु गलत भएको बताए ।

‘गाऊँपालिका बैठकले गरेको निर्णयलाई मान्दिन भन्ने पाइदैन’, अध्यक्ष रमेश थापामगरले भने, ‘यस्तो संबेदनशील विषयमा गाऊँपालिकासंग कुनै सल्लाहनै नगरी निर्णय लिनु गम्भिर त्रुटी हो । यस विषयमा गाऊँपालिका बैठकले आवस्यक निर्णय लिन्छ।’

सम्बन्धित समाचार

Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend