शनिबार, भाद्र ४ २०७९

कम्युनिस्ट मिलाउन चीनले खेल्यो भित्रि रोल, ओली, प्रचण्ड र माधवलाई गर्यो यस्तो प्रस्ताव !



कम्युनिस्ट मिलाउन चीनले खेल्यो भित्रि रोल, ओली, प्रचण्ड र माधवलाई गर्यो यस्तो प्रस्ताव !

काठमाण्डौ – चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेपालका प्रमुख वामपन्थी शक्तिहरु मिलेर अघि बढेको हेर्ने चीनको चाहना रहेको बताएका छन्। नेपाल भ्रमणमा रहेका लिउले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाललाई भेटेर वाम एकताको चाहना प्रकट गरेका हुन् ।

नेकपा माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादीका नेतासँग सोमबार र मंगलबार भएका भिन्नाभिन्नै भेटमा चिनियाँ नेता लिउले वामपन्थी शक्तिबीचको एकता भए ‘चीनलाई राम्रो लाग्ने’ बताएको ती भेटमा सहभागी नेताहरुले जानकारी दिएका छन्। ‘साइलेन्ट डिप्लोमेसी’मा माहिर मानिने चिनियाँ नेताले नेपालका वाम दलहरु मिल्ने वा नमिल्ने विषय यहाँका पार्टीको नितान्त आन्तरिक विषय भएको पनि बताउन छुटाएनन्।

ओली निवास बालकोटमा मंगलबार झण्डै ६ घण्टा भएको कुराकानीमा चिनियाँ नेता लिउले विगतमा जस्तै नेपालमा वामपन्थी शक्तिबीच एकताको सम्भावना कति छ भनेर जिज्ञासा राखेको उक्त भेटमा सहभागी नेताहरुले जानकारी दिए। चिनियाँ नेता लिउले कांग्रेस, कम्युनिस्ट लगायत नेपालका सबै राजनीतिक दलसँग चिनियाँ कम्युनिस्ट पार्टीले समान सम्बन्ध राख्न चाहेको बताएका थिए।

‘लिउले नेपालका कम्युनिस्ट पार्टी मिलेको चीनलाई राम्रो लाग्ने बताउनुभयो। तर नेपालमा वाम पार्टी मिल्ने वा नमिल्ने आन्तरिक कुरा भएकाले त्यसका लागि चीनले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभयो’ भेटमा सहभागी एकजना एमाले नेताले नेपालखबरसँग भने।

प्रत्युत्तरमा एमाले अध्यक्ष ओलीले आफू वामपन्थी शक्तिबीच एकताको विपक्षमा नरहेको बताएका थिए। ‘विगतमा वामपन्थी शक्तिबीच फुट हाम्रा कारणले आएको थिएन, अहिले पनि हामीलाई मिल्न आपत्ति छैन। यद्यपि तत्काल हामी कसैसँग एकता गरिहाल्न गइरहेका छैनौं, एक्लै चुनाव लड्ने हाम्रो नीति छ’ ती नेताका अनुसार ओलीले चिनियाँ नेतासँग भने।

नेपालमा संसदीय चुनाव नजिकिँदै गर्दा चीनले नेपालका वामपन्थी दललाई मिल्न पहल गरिरहेको हुनसक्ने चर्चा भएका बेला चिनियाँ नेता लिउले ठूला वामदल मिलेको हेर्न चाहेको चिनियाँ चाहना अभिव्यक्त गर्नुलाई अर्थपूर्ण मानिएको छ।

चिनियाँ नेतासँग ओलीले के भने 

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली र चिनियाँ नेताबीचको कुराकानी मुख्यतः चार विषयमा केन्द्रित रहेको एमाले नेताहरुले जानकारी दिए।उनीहरुका अनुसार पहिलो, चिनियाँ कम्युनिस्ट पार्टी र एमालेबीचको पार्टीगत सम्बन्ध, दोस्रो नेपालमा वामपन्थी दलहरुबीचको एकता सम्भावना, तेस्रो नेपाल र चीनबीचको द्वीपक्षीय सम्बन्ध र चौथो नेपालमा बढ्दो अमेरिकी सक्रियता।

नेपालका सबै दल राष्ट्रिय हित र सार्वभौमिकताको रक्षाका सवालमा एकठाउँ उभिउन् भन्ने चाहना चिनियाँ नेताले व्यक्त गरेका थिए। ‘नेपालका राजनीतिक दलले आफ्नो निर्णय आफैं लिनसकुन्। त्यसमा हामी पनि हस्तक्षेप गर्दैनौं र कुनै पनि बाह्य शक्तिले पनि त्यसो नगरुन्’ अमेरिकाको पछिल्लो समय बढेको सक्रियातर्फ इंगित गर्दै उनले भनेका थिए।

ओलीसँगको भेटमा चिनियाँ नेता लिउले नेपालले चीनसँगको सम्बन्धलाई कम प्राथमिकता दिन थालेको हो कि भन्ने आशंका व्यक्त गरेका थिए। प्रत्युत्तरमा ओलीले नेपाल चीनसँगको मित्रवत् सम्बन्धप्रति प्रष्ट रहेको र चीनका विरुद्ध कसैलाई पनि नेपाली भूमि प्रयोग गर्न नदिने प्रतिवद्धता जनाएको एमाले नेताहरुले बताए।

‘अध्यक्षले नेपाल र आफ्नो पार्टी सधैं एक चीन नीतिको पक्षमा रहेको बताउनुभयो। उहाँले नेपाली भूमि चीन विरुद्ध प्रयोग हुन नदिने र कसैले आफ्ना रणनीतिमार्फत् चीन बिरोधी गतिविधि गर्न खोज्छ भने त्यसको प्रतिरोध एमालेले गर्ने बताउनुभयो’ भेटमा सहभागी एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले भने।

चिनियाँ नेताले लिउले एमालेले कुनै पनि सैन्य गठबन्धनमा नजाने भनी लिएको निर्णयको स्वागत गरेका थिए। ‘वहाँले एमाले पार्टी र नेपालका दलले असंलग्न परराष्ट्र नीतिमा अडिग रही कुनै पनि सैन्य गठबन्धनमा भाग नलिने भनि लिएको नीतिको प्रशंशा गर्नुभयो’ ज्ञवालीले भने।

माधव र झलनाथसँग पनि वाम एकताकै सुझाव
मंगलबारै सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत सम्मानित नेता झलनाथ खनालसँग पनि चिनियाँ नेता लिउले भेटेका थिए। होटल एभरेष्टमा भएको भेटमा चिनियाँ नेता लिउले विचार मिल्ने पार्टीसँग मिलेर जान सुझाव दिएका थिए।

आमरुपमा विचारधारा मिल्नेहरु एक ठाउँमा आउनु राम्रो कुरा हो। चीन एकतामा विश्वास गर्छ। एकतामा बल हुन्छ भन्ने हाम्रो मान्यता हो। त्यसकै आधारमा चीन अघि बढेको छ’, एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाका अनुसार लिउले भेटमा भने, ‘हाम्रै राष्ट्रपति सी चिनफिङले पनि एकतामा बल हुन्छ भनिरहनुभएको छ। चीन अहिले एकजुट र बलियो छ।’

खतिवडाका अनुसार एउटै विचारका दलहरुले एकतालाई मूल मन्त्र बनाउँदा राम्रो हुने धारणा पनि चिनियाँ नेताले भेटमा राखेका थिए। ‘तपाईंहरुले एकतालाई आफ्नो बलका रुपमा लिनु उचित हुन्छ’, लिउको भनाइ उद्धृत गर्दै खतिवडाले भने ‘विचार मिल्नेहरू एकै ठाउँमा आउँदा बल पनि बढ्छ। वाम शक्तिहरु मिलेकै राम्रो हुन्छ, तर मिल्नैपर्छ भनेर हामी हस्तक्षेप गर्दैनौँ, किनकि यो तपाईँहरुको आन्तरिक कुरा हो।’

सम्बन्धित समाचार

Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend