शुक्रबार, असोज १४ २०७९

आबे घटनाले तर्सिए नेपालका नेता, कुन नेताको सुरक्षा थ्रेट कति ? यस्तो छ प्रहरीको तथ्यांक !



आबे घटनाले तर्सिए नेपालका नेता, कुन नेताको सुरक्षा थ्रेट कति ? यस्तो छ प्रहरीको तथ्यांक !

काठमाण्डौ – बन्दुकमाथि प्रतिबन्ध लगाइएको जापानमा बन्दुकसम्बन्धी हिंसाका घटना बिरलै हुन्छन् तर, नारा सहरमा भाषण गरिरहेका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार गोली प्रहार भयो ।​ अपरिचितले हानेको दुई गोलीमध्ये पछाडिबाट एउटा गोली लागेर सिन्जो ढले । उपचारकै क्रममा उनको निधन भयो । सिन्जो तिनै नेता हुन्, जसले स्वास्थ्यमा समस्या देखिएपछि सन् २०२० मा राजीनामा दिएर जनतासामु माफी मागेका थिए ।

नेपालमा पनि बेलाबेला भीआईपी र भीभीआईपीहरुमाथि भौतिक आक्रमण हुने गरेको छ । २०६९ मंसिरमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पदम कुँवरले थप्पड हानेका थिए । प्रचण्डमाथिको आक्रमण त्यतिमै रोकिएन, २०७६ फागुन १८ मा उनलाई रतन तिरुवाले जुत्ता प्रहार गरे ।

नेकपा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाललाई २०७६ माघ ७ मा सुनसरीमा एमालेकै कार्यकर्ताले झापड हाने । एमालेकै कार्यकर्ता देवीप्रसाद रेग्मीले उनलाई झापड हानेका हुन् । झापड प्रहार भएको १५ दिनपछि खनाल प्रधानमन्त्री भए । नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालामाथि २०६९ असोज १३ मा कुर्सी प्रहार भयो । आफ्नै कार्यकर्ताले हानेको कुर्सीले कोइरालाको शरीरको बायाँ भागमा चोट लागेको थियो । कुर्सी प्रहार गर्ने नेविसंघका प्रवेश बस्नेतलाई प्रहरीले पक्रेर मुद्दा चलायो ।

पहिलो संविधानसभा निर्वाचनमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई हराएर चर्चामा आएका माओवादी सभासद् झक्कु सुवेदीलाई चिया पसलेले झापड हाने । २०६८ वैशाख १९ मा चिया पसलमा उनीमाथि प्रहार भएको थियो । चिया पसलमा मात्र हैन, नेपालको संसदमै जुत्ता प्रहार भएको छ । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई २०५१ मा संसदमै एमालेका तत्कालीन सांसद गोल्छे सार्कीले जुत्ता प्रहार गरेका थिए ।

नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्कामाथि २०६५ जेठ १५ मा चप्पल प्रहार भयो । खड्कामाथि तत्कालीन एमालेकी सभासद् कमला शर्माले चप्पल प्रहार गरेकी थिइन् । थप्पड र चप्पलमात्रै हैन, नेपालमा भीआईपीमाथि योजनाबद्ध गोली प्रहार भएको घटना पनि छ । २०६९ जेठ १८ मा ललितपुरको युएन पार्क नजिकै सर्वोच्चका बहालवाला न्यायाधीश रणबहादुर बमलाई गोली हानेर हत्या गरिएको थियो । चुरे भावर एकता पार्टीको अध्यक्षमा आफ्नो विरुद्ध फैसला गरेको निहुँमा बाबु थापा सहितका व्यक्तिले बमको हत्या गरेका हुन् ।

नेपालका भीआईपीलाई थ्र्रेट कति ?

नेपाली काँग्रेसका नेता डा। प्रकाशशरण महतलाई सुरक्षा थ्रेट बढेको विश्लेषण गरेर गृह मन्त्रालयले २०७८ फागुनमा उनको सुरक्षा बढाउने निर्णय गरेको थियो । नेपाली काँग्रेसका प्रवक्तासमेत रहेका डा। महतलाई सुरक्षा थ्रेट बढेको प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको निष्कर्ष थियो ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदबाट पारित हुनुअघि डा. महतको सुरक्षामा व्यक्तिगत सुरक्षा अधिकृत पीएसओ थप्नुपर्ने सुरक्षा विष्लेषण गरिएको थियो । २०७८ फागुनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पनि सुरक्षा बढाईएको थियो । अर्थमन्त्रीको तर्फबाट प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी टेबल गरेपछि गृह मन्त्रालयले कार्कीको सुरक्षामा प्र्रहरीको अगुवा गाडीसहित थप सुरक्षाकर्मी परिचालन गरेको थियो ।

तर, अहिले उनको सुरक्षामा खटिएको अगुवा गाडी फिर्ता गरिएको छ । सञ्चारमन्त्रीलाई अहिले सुरक्षा थ्रेट नरहेको विश्लेषण गरेर अगुवा गाडी फिर्ता गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए । प्रहरी प्रधान कार्यालयले झलनाथ खनाललाई दिएको थप सुरक्षाकर्मी पनि फिर्ता बोलाएको छ । एमसीसीको विरुद्धमा बोलेको हुनाले त्यतिबेला खनाललाई थ्रेट बढेको र अहिले सो थ्रेट कम भएको प्रहरी प्रधान कार्यालयको निश्कर्ष छ ।​

गृहमन्त्रीको नेतृत्वमा रहेको केन्द्रीय सुरक्षा समितिले सुरक्षा थ्रेटको तह हेरेर सुरक्षा उपलब्ध गराउँदै आएको छ । सुरक्षा थ्रेट विश्लेषणमा प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग र सुरक्षा सेवा निर्देशनालयले केन्द्रीय सुरक्षा समितिलाई सहयोग गर्छन् । कसैले व्यक्तिगत रुपमा ‘थ्रेट भयो’ भनेर सुरक्षा मागे पनि सुरक्षा विश्लेषण गरेर प्र्रहरी प्रधान कार्यालयले केन्द्रीय सुरक्षा समितिलाई सिफारिस गर्ने नेपाल प्रहरीका एकजना उच्च अधिकारीले बताए ।

नेपालका नेताहरुलाई बाह्यभन्दा पनि आन्तरिक सुरक्षा चुनौती रहेको बताउँछन् पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी । ‘नेपालमा नेताहरुलाई थ्रेट छ,’ रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘समाजमा नेताहरुका विरुद्ध थुप्रै नकारात्मक कमेन्ट सुनिन्छ त्यसैले नेताहरुलाई आन्तरिक सुरक्षा चुनौती रहेको मैले देखेको छु ।

नेताहरुलाई सुरक्षा चुनौती भएको वा नभएको भन्नबारे प्रहरी प्रधान कार्यालयले सुरक्षा विश्लेषण गरिरहेको हुन्छ । प्रहरी प्रधान कार्यालयका अनुसार नेपालमा सबैभन्दा धेरै थ्रेट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छ । उनको सुरक्षामा अगुवा, पछुवा गाडीसहित नेपाल प्रहरीका डीएसपी खटाइएको छ । प्रचण्डलाई आफ्नै कार्यकर्ताबाट खतरा देखिने बताउँछन् पूर्व डिआईजी मल्ल । ‘कतिपय नेताको सेक्युरिटी थ्रेट जिम्मेवारीले पनि हुन्छ,’ मल्ल भन्छन्, ‘कतिपयलाई चाहिँ पार्टीको माथिल्लो तहका कार्यकर्ताबाट चुनौती देखिन्छ ।’

 

सम्बन्धित समाचार

Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend