आइतबार, असार १२ २०७९

यी हुन् सम्पर्कविहीन जहाजबारे अहिलेसम्म थाहा भएका तथ्य !



यी हुन् सम्पर्कविहीन जहाजबारे अहिलेसम्म थाहा भएका तथ्य !

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजको सम्पर्कविहीन भएको छ। पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार तारा एयरको नाइन एन एइटी जहाज ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो। १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण हुनुपर्ने जहाज १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको देखिन्छ।

फ्लाइटराडारको तथ्याङ्कअनुसार जहाज हराउनुअघि १२ हजार ८ सय २५ फिटको अल्टिच्युडमा उडिरहेको थियो। जहाज युटिसी टाइम ४ बजेर २२ मिनेटमा हराएको थियो। जुन नेपाली समय अनुसार बिहान १० बजेर ७ मिनेट हुन्छ। मुस्ताङको लेते पुगेपछि जहाज सम्पर्कविहीन भएको टावरको रेकर्डमा देखिन्छ।

लेते थासाङ गाउँपालिकामा पर्छ। थासाङका अध्यक्ष प्रदीप गौचनले लेतेदेखि टुकुचेको बीचमा मौसम खराब भएकाले जहाज त्यहीँ हराएको हुन सक्ने बताए। लेतेदेखि टुकुचेबीचको मौसम निकै बादल लागेको छ। अहिले यहाँ सिमसिम पानी परिरहेको छ,’ गौचनले भने।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा १९ जना यात्रु थिए। तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना नेपाली रहेको उनले जानकारी दिए।

जहाज क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए। चालक दलमा अरू दुई जना सदस्य रहेको बर्तौलाले जानकारी दिए। सम्पर्कविहीन जहाजको खोजीका लागि दुइटा हेलिकप्टर परिचालन गरिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले नेपाली सेनाको एक र एउटा निजी कम्पनीको हेलिकप्टर परिचालन गरिएको बताए।

नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट पठाइएको हो भने मुस्ताङमै रहेको फिस्टेल एअरको हेलिकप्टर खोजीका लागि परिचालन गरिएको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले पनि हराइरहेको जहाज खोज्ने कार्य जारी रहेको बताए।

सम्बन्धित समाचार
ताजा अपडेट

Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend