शनिबार, भाद्र ४ २०७९

मेरा ‘बा’



मेरा ‘बा’

गुड मर्निङ एभ्रिवन !
माई नेम ईज जियाना सिग्देल, आई वुड लाईक टु वेलकमिङ यू अल…..

छ वर्षकी छोरीले उनको विद्यालयको दिक्षान्त कार्यक्रममा विद्यालयका सबै अविभावकलाई स्वागत मन्तव्य दिँदै गर्दा म उनको भिडियो खिचिरहेको थिएँ, सँधैजसो औपचारिक कार्यक्रम संचालन गर्ने म त्यो दिन छोरीको अविभावक बनेर उनलाई स्टेजमा नियालिरहेको थिएँ । हुनत श्रीमतिले कार्यक्रम संचालन गरिरहेकोले एक किसिमको आनन्द महसुस गरिरहेकै थिएँ, तर त्योभन्दा ज्यादा छोरीले स्वागत मन्तव्य दिएको क्षणमा भावुक बनें । श्रीमतिसँगै हुँदा पनि छोरीको प्रस्तुती हेर्दा मेरो आँखामा नजानिँदो खुशी छल्चिएको मैले महसुस गरें, पहिलोपल्ट । सायद, सन्तानप्रतिको मोह हुनुपर्छ ।

म कक्षा तीनबाट चार कक्षामा जाने भनिएको दिन (त्यो समयमा स्व. राजा विरेन्द्रको जन्मदिन पारेर रिजल्ट प्रकाशित गरिन्थ्यो) सबैजना विद्यार्थीहरु विद्यालयको चौरमा जम्मा भएका थियौं । सरहरुले रिजल्टका लागि लाईनमा राख्नुहुन्थ्यो । कक्षा एक हुँदै कक्षा तीनको पालो आयो । प्रथम भएकोमा मेरो नाम बोलाईयो । म गएर कापी, डटपेन र सिसाकलम लिएर आएँ । हिमालय नि.मावीको प्राङ्गणमा भएको त्यो कार्यक्रममा हामी प्रायः विद्यार्थी मात्रै हुन्थ्यौं । सरकारी विद्यालयमा अहिलेजस्तो अविभावकहरु आउने भन्ने हुँदैनथ्यो, सायद गाउँका मानिसहरुलाई फुर्सद नभएर होला भन्ने लाग्छ अहिले । सात कक्षासम्मको रिजल्ट सकिएपछि फेरि सरले भन्नु भयो, ‘हामी अब स्कुल फस्ट हुनेको नाम बोलाउँछौं ।’ त्यो ‘स्कुल फस्ट’ भन्ने हामीले त्यसअघि सुनेका थिएनौं । त्यसै सालदेखि त्यो शिर्षक पनि थपिएको सरले जानकारी दिँदै भन्नुभयो, ‘स्कुल फस्ट भनेको सबै कक्षामा प्रथम हुनेहरुमध्येबाट पनि धेरै नम्बर ल्याउने विद्यार्थी हो । यस पटकको स्कुल फस्ट, कक्षा तीनबाट भाई जयराम सिग्देल भएका छन् ।’ म ट्वाल्ल परेर हेरेर बसें । सरले दोहो¥याएर बोलाएपछि म गएँ । फेरि एक दर्जन कापी, डटपेनहरु र शिशाकलम बोकेर म फर्किएँ ।

त्यो दिन म स्कुल फस्ट भएको भन्दै घर जान छोडेर पुरै गाउँ डुल्न थालें । करिब आठ वर्षको बालक आफ्नो सफलता देखाउन भन्दै म गाउँभरि अविर दलेको रातो अनुहार बनाउँदै हिँडें । कसैले सोध्थे, कसैले सोध्दैनथे, कोही ओहो ! भन्थे । जेहोस् म आफ्नो सफलता नजानिँदो तरिकाले हल्ला गरिरहेको थिएँ । घर पुगेपछि बाआमालाई कतिबेला सुनाउँ जस्तो लाग्थ्यो । बालाई त के भन्नु ! आमालाई चैं कतिबेला सुनाउँ हुन्थ्यो । किनभने बासँग डर लाग्थ्यो । पैसा माग्नुपर्दा वा अन्य केहि गर्नुपर्दा बालाई भन्न पनि आमाकै सहारा लिनुपथ्र्यो । त्यो दिन घरपुग्दा आमा घरभित्र हुनुहुन्थ्यो बा बाहिर बसिरहुन भएको देखें । राताम्य अनुहार र हातभरि कापी, डटपेन र सिसाकलम देख्दा बा को मुहारमा कुनै उत्साह देखिनँ । अनि बासँग आँखा जुध्न लागेपछि सरक्क म घरभित्र छिरेर आमालाई एकै सासमा भनें, ‘म आज स्कुल फस्ट भईं । तीनमा पनि फस्, अनि स्कुलभरिमा पनि म फस् । यी तीनमा फस् भा’को तीनटा कापी, डटपेन र सिसाकलम अनि अरु चैं स्कुल फस् भएर पाको ।’ यति भनेर आमालाई १५ वटा कापी, डटपेन र सिसाकलम देखाएँ । मेरो चुलबुल पनि र बालसुलभ उत्साह देखेर होला, आमाले खाजा दिनु भो । यसो हेरें, आमाको आँखामा मेरो सफलताका सूचकहरु छल्किरहेका थिए, आँशु खसेको मैले नदेखोस् भनेर हो वा मैल थाहा पाउला भनेर हो, अगेनोपटि फर्किनु भो ।

आज महसुस गर्दैछु, मसँगै बाले चार छोराहरु र एक छोरी (मेरी दिदी) लाई पालन पोषण गर्दा वा सन्तानको खुशीहरुमा कति खुशी हुनुभो वा कतै आँशु पनि खसाल्नु भो होला । मैले प्रत्यक्ष देख्न पाईंन । हाम्रा खुशीहरुमा पक्कै खुशी हुनु भो होला । म छोरीले सामान्य रुपले प्रस्तुती दिँदा त खुशी भएँ भने आफ्नो सन्तानको खुशीमा खुशी नहुने त कुरै पक्कै नहोला । तर, अनुभव कम गरेको छु । अहिले बुझ्दैछु, खुशीको महत्व ! अनि बुबाको तुरुन्तै प्रतिक्रियात्मक नहुने स्वभाव पनि बुझ्दैछु । दुःखमा नआत्तिनु र खुशीमा नमात्तिनुको खास अर्थ बुझ्न मलाई यत्रो समय लाग्यो । बा लाई समयमैं बुझेको भए, यतिका समय, मान्छे र किताबहरु सायदै पढ्नुपथ्र्यो ।
हुनत सबैलाई आफ्नो बा खास लाग्छन् अनि फरक लाग्छन् । मपनि त्यै वर्गमा पर्छु । आफुले चाहेर पनि भनेजति पढ्न नपाएर हो वा शिक्षाको महत्व बुझेर हो हामी कसैलाई पनि बुबाले पढाउन कन्जुस्याईं गर्नुभएन । बरु, अन्य कुराहरुमा सम्झौता ग¥यौं होला, तर पढ्न भनेपछि कुनै दिन कमी भएको हामीले पाएनौं ।

देशको राजधानी काठमाडौंमा मेरो बसाई सामान्य भन्दा माथी नै छ जस्तो मलाई लाग्छ । एक किसिमको जीवनशैलीमा म भुलिईरहेको छु । मजस्ता धेरै मानिसहरु केन्द्रीय राजधानीमा दिमाग र शरिर घोटिरहेका छौं । हरेक दिन बेफुर्सदजस्तो यताउता गरिरहेका हुन्छौं । हरेक मानिस आफुभित्र एउटा ज्वाला बोकेर हिँडेको छ । हरेक दिन मिटिङ, छलफल, भेटघाट, जमघट, खानपान वाह ! जिन्दगी ! हाम्रा बाले कहाँ यस्तो भोग्न पाए र ? हामी साह्रै भाग्यमानी पुस्ता पो त !

जब कक्षामा फस्ट हुँदै गएँ, रमाईलो जस्तो हुँदै जान थाल्यो । विशेषगरि परिक्षाको समयमा रमाईलो हुने । ‘सिकाई देउ न चक्लेट दिन्छु, पैसा दिन्छु, घुम्न लैजान्छु’ यस्ता अफर आउँथे । यो अफरले मान्छेलाई कहिलेकाहीँ घमण्ड पनि चढाउँछ सायद । यो कुरा मैले कक्षा सातमा थाहा पाएँ, जब प्रथम हुनेमा मेरो नाम नभएर दोश्रोमा प¥यो । त्यै बेलामा मैले बा किन मेरो रमाईलोमा खुशी हुनुभएन वा खुशी देखाउनु भएन ? भनेर बुझ्नुपथ्र्यो, सयम लाग्यो ।

जब मेरो उमेर र कक्षा बढ्दै गयो, बासँगको दुरी पनि बढ्दै जानथाल्यो । १८÷२० को हुँदा पनि झन् कुरै गर्न मन नलाग्ने पो हुनथाल्यो । म आधुनिक जमानाको कुरा गर्दा बाले संस्कार, आदरसम्मान, संस्कृति बुझाउँदा त्यसै पारो तात्थ्यो । असल मान्छे बन्ने अर्ति दिँदा दिमागै रन्थनिन्थ्यो, अझ असल संगतको कुरा गर्दा त घरै नजाउँ जस्तो पनि लाग्थ्यो । समकालिनहरु गाउँ चाहार्दा वा कुनै पसलमा क्यारेम बोर्ड खेल्दा म घरको काममैं हुन्थें । बाको नजर छलेर खेल्न जानुपर्दा साह्रै दिक्क लाग्थ्यो । सायद त्यै दिक्कारी समयमा भएर होला, कुनै गलत संगत हुन पाएन वा भनौं, मौका मिलेन ।

प्रौढ नहुँदासम्म बाका हामी पाँचै भाई बासँग आवश्यकताभन्दा पनि बढी डराउँथ्यौं । विद्यालय पढ्दासम्म हाम्रा बा संसारकै जानकार हो कि जस्तो लाग्थ्यो । किनकी, हाम्रा लागि संसार भनेकै विद्यालय र घर अनि वरपरको समाज थियो । एउटा खास कुरा चैं के परिवारमा के थियो भने हामी सबैजना झुरुप्प जम्मा नभएसम्म आमाले खाना पस्किनुहुन्थेन । बासँग कुरा गर्न पनि बाको मुड विचार गर्नुपथ्र्यो, वा खाने बेला पारेर आफ्ना माग भन्नुपथ्र्यो, किनकी त्यो बेला बाले जवाफ फर्काउनुहुन्थेन ।

घरमा बाको लागि छुट्टै चरेसको थाल, अम्खोरा र स्टीलको बीट मारेको गीलास हुन्थ्यो र छ । कहिलेकाँही बाको लागि भन्दै आमाले मिठो–मिठो पकाएर पहिलो बालाई पस्केर दिनुहुँदा लाग्थ्यो, बा हुनपाए त मिठो मिठो खान पाईने रे’छ । अनि गाउँका मानिसहरु पनि बुबालाई भेट्दा अभिवादन गर्थे । कतिसम्म भने मलाई पढाउने शिक्षकहरु पनि बालाई नमस्कार गर्थे । ‘गुरुबा’ को सम्बोधन गर्थे । बच्चा जन्माएपछि अविभावक भईन्छ भन्ने मेरो बुझाई पनि गलत हो भन्ने बुझें परिवार, समाज र परिवेशलाई नबुझी खासमा असल अविभावक बनिदो रहेनछ कि !

अहिले बुझ्ने भएँ या समयले सिकायो, बा हुन कति गाह्रो रहेछ । आधा दर्जन हामी जिवित सन्तानको शिक्षा, पालनपोषण अनि यजमानहरुको कर्म गर्न कुनै दिन कन्जुस्याईं नगरि बाले सात दशक बिताउनु भो । मोबाईल चलाउन नपाए आजकल हामीलाई सात घण्टा काट्न पनि मुश्किल छ । धेरथोर मेहेनत गरेको छ, दुईचार जनाले चिन्छन्, मनमा एउटा सुषुस्त घमण्ड पनि छ । आफुलाई यत्तिको भैसकें भन्ने लागेर जति गर्व गरे पनि मलाई मेरो नामले भन्दा ज्यादा बा को छोरा भनेर चिन्छन् । हामी अहिले भर्खर डायल गरेको फोन पनि बिर्सिन्छौं, तर, बालाई आफ्ना भए भरका यजमानहरुको बा र हजुरबाको तिथी÷मिति याद छ, अहिलेसम्म । नातागोता सप्पैको नाम र बसाई थाहा छ, मलाई पल्लो घरमा बस्नेको नाम समेत थाहा छैन । मैले छोरीले पाएको सानो सफलतालाई सामाजिक संजालमा रंग्याउन भ्याईहालें, तर बाले हाम्रा सफलतालाई कसैसँग कुनै दिन भनेर उन्मत्त भएको र सन्तान गुमाउँदा पनि धैर्यता गुमाएको देखेको छैन ।

बा उमेरले सत्तरी पूरा हुनभयो । हामीसँग कुनै दिन केहि पुगेन भनेर मागेको मलाई थाहा छैन । आज पनि सकेसम्म छोराहरुसँग माग्नु नपरोस् भन्ने नै भाव मुहार देख्छु । अहिले हाम्रो जिम्मेवारी काँधमा बोकेर थाकेको हो कि ? भन्ने अनुभव गर्छु । दम र हर्नियाको रोगबाहेक आजसम्म सुगर, प्रेसर वा अन्य देखिएको छैन । मैले माथी नै लेखिसकेको छु, आफ्ना बा सबैलाई ‘हिरो’ लाग्छ । तर मलाई चैं ‘सुपर हिरो’ जस्तो लाग्छ । र, आजसम्म बा को जन्मदिन हामीले शुभकामना बा भनेर मनाएका पनि छैनौं, तर बा फोन गरेरै भएपनि ‘तेरो आज जन्मदिन, शुभकामना दिउँ भनेर फोन गरेको’ भन्दै आशिर्वाद दिनुहुन्छ । आज ‘बा’ को जन्मदिन । मेरा ‘बा’ लाई ७१ औं जन्मदिनको अवसरमा सु–स्वास्थ्य र दीर्घायूको अनगिन्ती शुभकामना !

सम्बन्धित समाचार

Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend